राजधानीमा च्याम्पियन्स लिग टेबल टेनिसः सिजन टु सुरु

काठमाडौं। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ “स्ट्याग गोल्बल च्याम्पियन्स लिग – सिजन टु सुरु भएको अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा राजधानीको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि उक्त लिग सुरु भएको हो ।
आश्विन ०७ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल प्रा.लि. इंडिया, सह–प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष श्री सुमन खड्गी र मेटल सेपर रहेको अखिल नेपाल टेबल टेनिस संघका प्रबन्ध निर्देशक नबिता श्रेष्ठले बताइन् ।
६ दिन सम्म चल्ने लिग प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) सहित ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरि जम्मा ७ टिमले सहभागीता जनाउने आयोजकको दाबी छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. दुई लाख रुपैयाँ, द्वितीय हुने टिमले नगद रु. एक लाख रुपैयाँ र तृतीय हुने टिमले नगद रु. पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताए । लिगमा विदेशी खेलाडी समेत अनुबन्ध हुनु गौरवको विषय भएको खेल सम्बन्धी विशेषज्ञको भनाई छ ।

सेयर गर्नुहोस्