गुडलक म्यानपावरले ५ लाख ठगेको भन्दै विभागमा उजुरी

काठमाडौं, गुडलक म्यानपावरले ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भनीे ठगी गरेको भन्दै सो उजुरी परेको हो । काठमाडौँको सामाखुसी स्थित गुडलक म्यानपावरका सञ्चालकले रु ५ लाख लिई १ वर्ष भइसक्दा समेत नपठाएकोले पीडित धनगढीका हेमराज भाटले उजुरी हालेका हुन् । गुडलक म्यानपावरले विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिई ठगी गरेकोले उजुरी गरेको पीडितले बताए । गुडलक म्यानपावरका सञ्चालक संजय पनेरुले रकम उठाई वैदेशिक रोजगारीमा नपठाएको भन्दै सो उजुरी परेको हो ।
पीडितले निवेदनमा उल्लेख गरे अनुसार संचालक पनेरुको निर्देशनमा म्यानपावरका एजेन्टले क्यु आर कोड पठाएको र सोही कोडमा आफूले रकम ट्रान्सफर गरिदिएको पीडितले बताएका छन् । २८ सेप्टेम्बर २०२३ मा अनलाइन ट्रान्सफर मार्फत रु २ लाख र नगद रु ३ लाख गरी जम्मा ५ लाख एजेन्टलाई दिइसकेको पीडितले बताए ।
वैदेशिक रोजगार विभागमा उजुरी दिन गएकोमा विभागका कर्मचारीले १५ दिनपछि मात्र सम्पर्क गर्न भनेको पीडितले बताए । वैदेशिक रोजगार विभागका अधिकारीले म्यानपावर सञ्चालकलाई तत्काल बोलाई छलफल गर्न सक्ने हुँदाहुँदै १५ दिनपछिको समय दिँदा पीडितलाई झन् समस्या परेको पीडितको भनाइ छ ।
यस सम्बन्धमा गुडलक म्यानपावरका सञ्चालक संजय पनेरुसँग सम्पर्क गर्दा विषय थाहा पाएर पनि बुझपचाएर पन्छिन खोजे । म्यानेजर कुमार लामिछानेसंग सम्पर्क गर्दा काम गर्दा केही तलमाथि हुनसक्ने स्वीकारोक्ति जनाए ।
वैदेशिक रोजगार ऐनको दफा २४(२) मा सेवा शुल्क तथा प्रवद्र्धन खर्च : वैदेशिक रोजगारका लागि छनौट भएको कामदाको वैदेशिक रोजगारीमा जाने मुलुकबाट प्रवेशाज्ञा प्राप्त भएको जानकारी इजाजतवालाले दिएपछि निजले करार बमोजिमको रकम इजाजतपत्रवालाको कार्यालयमा वा बैङ्क खातामा जम्मा गर्नु पर्ने र उपदफा (३) मा उपदफा (२) बमोजिम इजाजतपत्रवालाको कार्यालयमा रकम जम्मा गरेकोमा सोको भरपाई कामदारलाई दिनु पर्ने कानुनी व्यवस्था छ ।
यसप्रकारको कानुनी व्यवस्था भए पनि कतिपय म्यानपावर कम्पनिले तोकिएभन्दा अधिक रकम लिने र रसिद नदिने गरेको पीडित पक्षको गुनासो रहंदै आएको छ । मेनपावर कम्पनीले अधिक रकम लिने र रसिद नदिने गुनासो पीडित पक्षले गरेपनि नियामक निकाय वैदेशिक रोजगार विभाग मौन रहदा कामदार ठगिनुमा विभागको समेत मिलिभगत देखिन्छ ।

सेयर गर्नुहोस्