राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गर्नुभयो । रोल्पामा बैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिको निधन भएको स्मरण गराउँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । तत्कालि नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उहाँले तत्काल खोजीकार्य गरी डिस्पोजल गर्न आग्रह गर्नुभयो ।
सांसद दिल कुमारी थापा रावलले लक डाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवति महिलाहरुको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सुत्केरी र गर्भवति महिलाहरुको क्वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउनुपर्ने माग गर्दै उहाँले जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर सरकारले लागु गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य संस्थामा गर्भवति महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उहाँले आग्रह गर्नुभयो । अहिले घरेलु हिंसा, बलात्कारका घनाहरु बढिरहेको र यसको न्यूनीकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो । सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवति र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताउनुभयो । उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवति महिलाहरुको चेकजाँच नुहनुले पनि घटनाहरु घट्ने गरेको उहाँले बताउनुभयो । लक डाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न उहाँले छुट्टै निर्देशिकाको आवश्यकता औल्याउनुभयो । आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।