कोभिड १९ का कारण पार्टी प्यालेसहरु तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुदा व्यवसायीहरु पलायन हुने स्थितिमा

कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्कि, कडकनाथ, कालिज लगायत पाल्न थालिएको बताउनुभयो । बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरा लगायतका चराहरु पाल्न थालिएको पनि उहाँले बताउनुभयो । करिब ५ करोड रुपैयाँ लगानीमा सञ्चालित बगैचाले रेस्टुरेन्ट सेवा, पार्टीप्यालेस लगायतको सेवा उपलब्ध गराउँदै आएको थियो ।
२५ जनाले रोजगारी पाउँदै आएको रेस्टुरेन्टमा अहिले २ जना मात्रै कार्यरत छन । रेस्टुरेन्टमा पालिएको कुखुरा, टर्कि, कालिज लगायतको खपत सहज स्थिति भएपछि आफ्नै रेस्टुरेन्टमा गर्ने योजना रहेको पनि दाहालले बताउनुभयो । रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी व्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । पार्टी प्यालेस व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ’ले लकडाउन सुरु हुनुभन्दा पहिले २०७६ चैत ७ गते देखि नै देशभरका व्यवसाय बन्द गर्न व्यसायीहरुलाई परिपत्र गरेको थियो ।
चैत ११ गते देखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइएपनि पार्टी प्यालेसहरु खुल्न सकेनन् । वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर ती महिनामा पार्टीप्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टीप्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताउनुभयो ।
उपत्यका लगायत अधिकांश जिल्लामा दोस्रोपटक निषेधाज्ञा जारी भएपछि सम्पूर्ण व्यवसायीको मनोबल खस्किएको पनि उहाँले बताउनुभयो । अवको तीन चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै २ सय भन्दा बढी व्यवसायीहरु विस्थापित हुने पाण्डेले बताउनुभयो ।
महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायी रुपमा कार्यरत छन् । लकडाउन भएयता तीन महिना सम्म सबै कर्मचारीलाई पुरै तलब दिएकोमा त्यसपछि भने अधिकांश व्यवसायीले आधा तलब पनि मुस्किलले दिन सकेको प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँले व्यवसाय गर्न सक्ने स्थिति नरहेपछि अव व्यवसायलाई केमा परिणत गर्न सकिन्छ भन्ने चिन्तामा व्यवसायीहरु पुगेको बताउनुभयो ।
७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउन समेत महासंघले अपिल गरेको बताउनुभयो । अहिलेको स्थितिमा व्यवसाय सञ्चालन गर्दापनि र नगर्दा पनि व्यवसायीहरु जोखिममा रहेको पाण्डेले बताउनुभयो ।
कोभिड कै बिचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा पाण्डेले जोड दिनुभयो । महासंघमा अवद्ध रहेका ४५ जिल्लाका ७ हजार भन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको बताउनुभयो । सरकारले अन्य व्यवसायलाई जस्तै सञ्चालन गर्न दिएर प्रोत्साहन गर्ने नीति लिनुपर्ने उहाँको भनाई छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपालद्धारा समस्यामा परेका नागरिकलाई निशुल्क खाना वितरण

Sun Sep 6 , 2020
कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य […]