ताजा अपडेट
वैशाख ७,काठमाण्डौ ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थिति झेल्दैछन् । आफू निकट धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण मानिरहेका छैनन् । धेरै नेता कार्यकर्ताले ओलीसंगै मिल्नुपर्ने दबाब दिएका छन् ।
उनलाई चौतर्फी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेता नेपाल इतिहासकै कठिन परिस्थितिमा पुगेका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरूले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न चर्काे दबाब बढेको छ । नेता नेपाल कहिल्यै चुनाव नजित्ने केही ब्यक्तिको सुझाव मानेर एमाले बिभाजन गरी माओवादीमा बिलय हुने योजनामा लागेपछि अधिकांशले त्यसो नगर्न र गरे आफूहरुको साथ नहुने बताइसकेका छन ।
माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले केही दिनअघि माधव नेपाल पक्ष र माओवादी विच एकिकरण हुने खुलासा गरेका थिए । पौडेलले माओवादी र माधव नेपाल समूहसँग चाँडै नै पार्टी एकीकरण हुने भनाइ केही दिनअघि सार्वजनिक गरेका थिए । यसैबीच नेपाल पक्षधर केही नेता अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् । ओलीले सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो । बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेयाङ्बो र सोम मिश्र सहभागी भए ।