जेठ १४, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आज शुक्रबारदेखि थप कडाइ गरिने भएको छ ।
पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको निषेधाज्ञा यसअघिको भन्दा थप कडाइ गरिएको छ ।
प्रहरीले विहानैबाट अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ । मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ ।
यसअघि बिहान १० बजेसम्म खुल्न दिएकोमा अनावश्यक भीडभाडले कोरोनाको जोखिम बढ्ने खतरा रहेको हुँदा यो पटकको निषेधामा ती पसलहरुसमेत बन्द गर्न आदेश जारी गरिएको उनले जानकारी दिए । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल भने यसअघि झैँ खुल्ने छन् ।
यसैगरी मालवाहक सवारीसाधन आवागमन नियन्त्रण गर्ने, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कोटा निर्धारण गरिने, स्वास्थ्य र अन्य तोकिएकालाई जुनसुकै बेला र बाँकी अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने लगायत आदेश जारी गरिएको छ ।
अत्यावश्यक बाहेकका सरकारी कार्यालयबाट हुने सेवा पनि स्थगन गरिएको छ। कोरोना जोखिम कायमै रहेको हुँदा नियमको पालना गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संकटकाल र अन्य कडा प्रावधानसमेत लागू गर्न गत विहीबार कोभिड संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।
अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पु¥याए ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ । मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेक पटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गर्नेलाई २ सय जरिवाना गरिने अध्यादेशमा उल्लेख छ ।
त्यस्तै, अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एक पटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना तिराउने अध्यादेशमा उल्लेख छ । आजबाट अनावश्यक हिडडुल गर्न समेत नपाइने आदेशमा उल्लेख गरिएको छ ।