बैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै शक्ति प्रयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री नियुक्ति भएपछि आज शुक्रबार पदभार ग्रहण गर्दे उनले भने,‘हामी सबै शक्ति खर्चेर रोग नियन्त्रण गर्देछौं ।’ प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पहिलो संबोधन गर्दे ओलीले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गर्ने दाबी गरे । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।
प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।
महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड–१९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बताए ।
ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताए । सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन ओलीले आग्रह गरे । ‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका साथ गइरहेका छौ । यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वीकार्य हुनसक्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
यस्ता प्रवृति छोड्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह थियो । उनले अहिले कोभिड १९ का विरुद्ध लड्नुपर्ने बेलामा अस्वस्थ, अनुचित र जनतामा निराशा पैदा गर्ने र सरकारका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण प्रचार गर्ने र जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने प्रवृति हावी भइरहेको बताए । उनले यस्तो बेला कसैले कोभिडको रोकथाम वा स्वास्थ्य सेवाका नाममा भ्रष्टाचार गर्छ वा अनुचित लाभ लिन खोज्छ भने कडाइका साथ कारवाही गर्ने दोहोर्याए ।
साथै उनले देश र जनताप्रति पूर्ण बफादारिताका साथ सपथ शब्दको पालना गर्ने भन्दै त्यसका लागि सदाझैँ इमानदारी, सक्रियता र पारदर्शिताका साथ कर्मचारीबाट सहयोग हुने विश्वास समेत व्यक्त गरे । ओलीले आजै मन्त्रिमण्डल बिस्तार गरेका छन् ।