कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

असोज २१,काठमाडौं ।  कैलाली जिल्लामा सरोकारवालाहरुले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।

बजारमा गैरकानूनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरु मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरी रेग्मीले बताउनुभयो । उहाँले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दशैँ, तिहार र छठ जस्ता महान चाडहरुमा खपथ र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताउनुभयो । उहाँले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताउनुभयो । उहाँले कैलालीमा श्रावणमा १३, भाद्रमा २५ र असोज महिनामा आजसम्म १२ वटा पसलहरुमा अनुगमन गरेको बताउनुभयो । उहाँले २ वटा पसलहरुमा भने एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार रुपैयाँ जरिबाना समेत गरेको बताउनुभयो । सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलहरुमा १७ हजार भन्दा बढीको म्याद सकिएको खामग्रीहरु पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिनुभयो ।

उपभोक्ता हीत संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताउनुभयो । उहाँले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरेर अव्यवस्थित पसलहरुलाई व्यवस्थापन गरेको पनि बताउनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताउनुभयो । उहाँले यसभन्दाअघि हप्तामा तीन÷चार पटकमात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताउनुभयो । उहाँले भारतबाट नेपाल भित्रिने नाका भएकोे र कोरोनाको जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गर्न सुझाव दिनुभयो ।

स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य संघलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको उपभोक्ताहरुको गुनासो छ । धनगढी बजार क्षेत्रमा खाद्यन्नमा अखाद्य वस्तु मिसावट हुने गरेको, दालमा ढुंगा, तिलमा कनिकालाई रंगाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थ अत्यधिक पाइने गरे पनि सम्बन्धित पक्षले चासो नदिएको स्थानीयको गुनासो छ ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बि.ओ.के क्यापिटल मार्केटको छैटौ वार्षिक साधारण सभा सम्पन्न

Thu Oct 7 , 2021
असोज २१,काठमाडौं ।  बि.ओ.के क्यापिटल मार्केटको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार अध्यक्ष महेश मिश्रको अध्यक्षतामा  साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम […]