मङ्सिर २२,काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनु भएको छ ।
बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताउनु भयो । निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्वपुर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरुले काम गर्ने क्षमतालाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो। मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने पर्ने बताउनु भयो । उहाँले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पुँजी भएको कम्पनी बनाउनु पर्ने तर्फ राख्नुभयो ।
मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पुँजीगत खर्च गर्ने क्षेत्र नै नीजी क्षेत्र भएको बताउनु भएको छ । उहाँले पूर्वाधार क्षेत्रको खर्च गर्ने निर्माण व्यवसायी नै भएको बताउनु भयो । मन्त्री झाँक्रीले नेपालीको विकास ,समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
निर्माण व्यवसायी महासंघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा स्वदेशी निर्माण कम्पनीलाई संरक्षण गरौं। साना निर्माण व्यवसायीलाई कामको अवसर दिऔं,निर्माण व्यवसायी एकता जिन्दावाद, सार्वजनिक निर्माणका सबैको सरोकार लगायतका नारा लेखिएका भ्यानर प्रदर्शन गरिएको थियो ।