उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे आमरण अनसन बस्ने सांसद मोदीको चेतावनी

पुष २०,काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ ।

सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अव आफै आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाडने अठोट समेत व्यक्त गर्नुु भयो । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैले आन्दोलन गरेर सरकारलाई घुडा टेकाउने बताउनु भयो । सांसद मोदीले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दावी समेत गर्नु भयो ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।नेकपा (माओवादी केन्द्र)की अर्का सांसद धर्मशीला चापागाँईले समितिले पटक पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको ? भनि पटकपटक प्रश्न समेत गर्नु भयो ।

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताउनु भयो । करिव १ अर्व ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिव ८ करोडमा झारेको पनि उहाँले समितिलाई जानकारी गराउनु भयो ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताउनु भयो । उहाँले ती समस्या समाधानका लागि सरकार लागि परेको पनि बताउनु भयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानहरुको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भयो ।सचिव पुस्करले उखु किसानहरुको भुक्तानीको समस्या समाधानका लागि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल भईरहेको पनि बताउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु

Wed Jan 5 , 2022
पुष २१,काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा  नेपाली निकासी योग्य वस्तुहरूकोे प्रर्दशन सुरु गरेको छ । परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी छैठौं दिवसको अवसरमा ठमेलको नेपाली घर होटलमा मंगलबार देखि आगामी २२ गतेसम्म सीमित व्यवसायीको संलग्नतामा नेपाली निकासी योग्य वस्तुहरूकोे प्रदर्शन आयोजना सुरु भएको जानकारी गराएको हो । […]