फागुन २२,काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको हो । संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताउनुभयो । सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उहाँले स्मरण गराउनुभयो । मन्त्री बडुले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पार्नुभयो ।
मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्शनको कुरा उठाइएको पनि बताउनुभयो । उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताउनुभयो ।