काठमाडौं । गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिने भएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले तेश्रो पटक विश्वास मत लिनुपर्ने अवस्था बनेको हो । बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । गतवर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले यसबीचमा तीन पटक गठबन्धन फेरबदल गरिसकेका छन् ।
पहिलो पटक विश्वासको मत लिँदा प्रतिनिधिसभाको दुई तिहाईभन्दा पनि धेरै मत पाएका प्रधानमन्त्री दाहाललाई दोश्रोपटक बाट भने सत्ता टिकाउनै हम्मे परेको छ । यसपटक पनि प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने र सरकार टिकाउने सहज बातावरण बनाउन सफल भएका छन् ।
नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादीले आफ्नो दलको हैसियतबारे प्रश्न गरेपछि प्रधानमन्त्री दाहाललाई विश्वासमा लिन सकस परेको थियो ।
तर मंगलबार फेरि सत्ता गठबन्धनका साझेदारबीच सहमति पत्रमा हस्ताक्षर भएपछि बुधबार उनले विश्वासको मत पाउने निश्चित छ ।
यसपटक उनलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।
अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । दाहाललाई विश्वासको मतका लागि यो मत पर्याप्त छ ।
उनको विपक्षमा भने प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतसँग ६, लोसपासँग ४, नेमकिपा र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।
दाहाल २०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका थिए ।
त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।
तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला भने २६२ सांसद उपस्थित रहेकोमा विश्वासको मतको पक्षमा १७२, मत परेको थियो ।