उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग व्यवसायीहरूकासँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । उनले सरकारको तीन महिने कार्ययोजनामा व्यवसायीहरूको सरसल्लाह र सुझाव समेत समेटिने प्रतिबद्धता पनि जनाए ।
साउन ३२ गते नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले उक्त धारणा व्यक्त गरेका हुन्। नेपाल सिमेन्ट उद्योग उत्पादक संघले हालै नयाँ कार्यकारीणी समिति निर्वाचन भएको सन्दर्भमा पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सिमेन्ट उद्योग व्यवसायीका समस्याहरूका सवालमा आफू संवेदनशील रहेको र व्यवसायीहरूका समस्या समाधानका लागि व्यवसायीहरूलाई सरकार संग प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे।
नेपाल सिमेन्ट उद्योग संघको नवनिर्वाचित अध्यक्ष रवि नन्दनले सिमेन्ट उद्योगमा ३०% व्यवसायीहरूको र ७०% बैंक तथा वित्तीय संस्थाको ऋण रहेको हुँदा ७०% लगानी जनताको रहेको बताए ७०% जनताको लगानी बचाउन सिमेन्ट उद्योगहरू धराशाही हुनबाट बचाउनुपर्ने उनले बताए
देशभित्र व्यावसायिक लगानीको वातावरण बने मात्र विदेशी लगानीको वातावरण बन्ने भएकोले सरकारलाई देशभित्र नै लगानीको वातावरण सिर्जना गर्न आग्रह गरे। उक्त कार्यक्रममा नेपाल सिमेन्ट उद्योग संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, तारा प्रसाद पोखरेल वस्तुगत उपाध्यक्ष हेमराज ढकाले लगायतका वक्ताहरुले सिमेन्ट उद्योगले झेल्नुभएको समस्या, चुनौती तथा समाधानका उपायहरु सम्बन्धमा महत्त्वपूर्ण धारणा व्यक्त गरेका थिए ।
