काठमाडौं महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’

काठमाडौं । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज(आइतबार)देखि सुरु भएको छ ।
आइतबार एक समारोहकाबी महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६ वटा केन्द्रमा संचालन हुने फेस्टिबल क्याम्पको संयुक्त रुपमा उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले रचनात्मक शिक्षाको प्रवद्र्धनका लागि चाडवाडको छेको पारेर क्याम्प सुरु गरिएको बताइन् ।
क्याम्पमा नियमित रुपमा संचालन हुने लेक्चरबेस क्लास नभएर सिर्जनात्मक शिक्षालाई प्रवद्र्धन गर्ने महानगरको तयारी रहेको डंगोलले बताइन् ।
क्याम्पमा गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्नेगरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।
क्याम्पमा महानगरपालिकाभित्रका १० कक्षामा अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने महानगरले जनाएको छ ।

सेयर गर्नुहोस्