हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा रु १९ करोड ७४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आ.वको साउनदेखि पुस सम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७हजार नौ सय ९३ राजस्व संकलन गरेको छ । यो अघिल्लो आव २०८०÷८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा तीन करोड १२ लाख बढी हो ।
सो चालु आ.वको छ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार, घर बहाल करबाट रु दुई करोड ८१ लाख७३ हजार, नक्सा पास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमालाग्ने करबाट रु दुई करोड १८ लाख७५ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ६२ लाख ८३ हजार, बहालबिटोरी करबाट रु एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट रु एक करोड ८३ लाख ११ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।
अघिल्लो आव २०८०÷८१ को सो अवधिमा उपमहानगरपालिकाले रु १६ करोड ६२ लाख ८६ हजार राजस्व संकलन गरेको थियो ।
बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धि लगायत कारणले चालु आवको छ महिनामा राजस्व संकलनमा वृद्धिभएको प्रमुख सुवेदीको भनाइ छ ।
