काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत अवलोकन गरेका थिए ।
निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए ।
उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ । साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकावासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवम् २४ घण्टा पानी धारामा पठाउने योजना अनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीब्र रुपमा अघि बढाउन लागिएको मन्त्री यादवको भनाई छ ।
मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी निर्देशक संजीबवीक्रम राणाले जानकारी दिए ।
सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ । यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदी नजिकै अवस्थित रहेको छ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो ।
यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रूपमा लिइएको छ । सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायाममा सङ्कलन गर्ने योजना बनाइएको र सङ्कलित पानीलाई पम्पिङ प्रणालीमार्फत सैंबु जलाशयमा पु¥याइनेछ, जसले ललितपुर महानगर क्षेत्रभरि खानेपानी वितरणको सुनिश्चितता गर्नेछ ।
सरकारको तीव्र पहल र सबै पक्षको सहकार्यले उक्त आयोजना समयमै सम्पन्न भई काठमाडौँ उपत्यकावासी नागरिकहरुको खानेपानी अभाव अन्त्य गर्ने विश्वास गरिएको छ ।
