काठमाडौं । आज नववर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदान प्रदान गरी उत्साहका साथ मनाइँदैछ ।
नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यस अनुसार वैशाख १ गते नयाँवर्षको रुपमा मनाइँन्छ ।
आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चन्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
बैशाख १ गते नववर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बाङ्ग्लादेश र श्रीलङ्का सहित एशियाका केहीअन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ।
