काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सही विचार विना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् ।
एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदन नगर बल्खुमा आयोजित कार्यक्रममा उनले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिएका हुन् ।
यस्तै, उनले आफूहरुले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजेको भन्दे देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको बताए ।
उनले आफ्नो नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि बताए ।

यस्तै, उनले एमालेको नेतृत्वलाई बदनाम गरेर पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरुले अनेक षड्यन्त्र गरेपनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरुलाई एकताबद्ध भएर ढुक्का साथ अघि बढ्न आग्रह पनि गरेका छन् ।
उनले विश्वमा दक्षिण पन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरुले त्यस्ता कमी कमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको बताए ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवाली लगायत सहभागी थियो ।
