काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धु प्रसाद बास्तोलाले यस वर्षको मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ विगतको भन्दा बढि व्यवस्थित बनाइएको बताएका छन् ।
मंगलबार मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ बारे आयोजित पत्रकार भेटघाटमा उनले करिब तीन महिनाको गृहकार्यपछि आएको कार्ययोजना विगतको भन्दा बढि व्यवस्थित बनाइएको बताए ।
यस्तै, उनले विगतमा कार्यान्वयन नभएको कुरा सत्य भएको भन्दै यसपाली कार्ययोजनाको ३०–३० दिनमा मूल्यांकन गरि आएका समस्या तत्काल समाधान गर्दै जाने बताए ।
प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनु जन्य विपद्बाट देशभर करिब ४,५७,१४५ घर धुरीका १९,९७,७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षाहुने सम्भावना रहेको उल्लेख गरेको छ।
