काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले वि.स. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको भन्दै युवालाई देशमै रोक्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको अनुभवलाई उत्पादन मूूलक क्षेत्रमा उपयोग गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए ।
यस्तै, उनले नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुुलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको पनि बताए।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीप मूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए ।
साथै, तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटना सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने पनि बताए ।
