ललितपुर । ललितपुर जिल्लास्थित ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी कफ्र्यू आदेश जारी गरेका छन् ।
कफ्र्यू आदेश अनुसार तोकिएको सिमाना भित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
कफ्र्यू आदेश जारी भएका क्षेत्रहरु भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) पूर्वमा भैँसेपाटी बाट बुङ्गमतीजाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोल पम्प भन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।
सानेपा क्षेत्र वडा नं २० ः पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म।
च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मलपोखरी जाने बाटोसम्म।
