तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् ।
शुक्रबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रह रहित भएर समन्वय र सहकार्य साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।
राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गरे ।
राष्ट्रपति पौडेलले हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथामूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ भनी संविधान दिवसको दिनमा सबैलाई सङ्कल्प गर्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहना अनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नव मार्गमा प्रवेश गरेको बताए ।
राष्ट्रपति पौडेलले आजको सुशासन, बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले परिकल्पना गरेको समता मूलक र समृद्ध नेपाल सम्भव भएको भन्दै जेन्जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन् गर्न र सुध्रिएर अघि बढ्ने अठोट गर्न आग्रह गरे ।

सेयर गर्नुहोस्