रामेछाप । रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ ।
२०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशतमात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भएपनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन ।
मन्थली नगरपालिकाको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घर परिवारलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले सो खानेपानी योजना सञ्चालन भएको हो । तामाकोसी नदीबाट पानीतानेर खानेपानी वितरण गरिने उक्त आयोजना निर्माणको जिम्माशर्मा सगुन जेबीले लिएको थियो ।

संघीय खानेपानी मन्त्रालयको खानेपानी विभाग मार्फत ६१ करोड ४९ लाख रुपैँयमा सम्पन्न हुने सो खानेपानी योजनाको लागि स्थानीय उपभोक्ताको १ प्रतिशत रकम ४ वर्ष अघि नै जम्मा गरिसकेका छन् ।
अहिले खानेपानीको लागि गाडिएको पाइपखिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । निर्माण गरिएका अन्य संरचनापनि अस्तव्यस्त अवस्थामा छन् । खानेपानी जस्तो संवेदनशील कुरामा समेत कार्यालय र व्यवसायीले लापरबाही गरेको मन्थली नगरपालिका–५ का वडाध्यक्ष रवीन कार्की बताउँछन् ।
