काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।
उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गरे ।
पत्रकारितासँग सम्बन्धित विषयमा पनि बोल्दै उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको बताए । ‘मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन । आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन,’उनले भने ।
कार्यक्रममा ओलीले आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने स्पष्ट पारे ।
उनले भने, ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन् ।’