मर्यादित तरिकाले तिहार मनाउन जिल्ला बासीलाई प्रशासन बाजुराको आग्रह

बाजुरा । नेपालीहरुको महान चाड शुभदिपावलीलाई मर्यादित तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय बाजराले सम्पूर्ण बाजुराबासीमा आग्रह गरेको छ ।
प्रशासन बाजुराले एक सूचना जारी गर्दै शुभदिपावली,नेपाल संम्वत र छठ लगायतका चाडपर्वलाई समाजमा शान्ति सु–व्यवस्था कायम हुने गरि मनाउन आग्रह गरेको हो ।
साथै सम्पुर्ण जिल्लाबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा आरोग्य,सुख,शान्ति एवम् समृद्धिको शुभकामना समेत व्यक्त गरेको छ ।
चाडपर्व सांस्कृतिक परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएकोले सामाजिक खलल पुग्ने कुनै कार्य नगरि सु–व्यवस्थित तरिकाले मनाउन आग्रह गरेको छ ।
प्रशासन कार्यालय बाजुराले देउसीभैलो जस्ता कार्यक्रम सञ्चालन गर्दा व्यवस्थित एवं मर्यादित तरिकाले राति ९ बजेसम्म मात्र गर्न गराउन आग्रह गरेको छ ।
त्यस्तै प्रशासनले दैनिक उपभोगका वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, म्याद नाघेका वस्तु बिक्रीवितरण गर्ने जस्ता उपभोक्ता हित विपरीतका कार्य नगर्न नगराउन सबैलाई आग्रह गरेको हो ।
चाडपर्वको बाहनामा धार्मिक एवं सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यस्तै, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तोकिएको भन्दा बढी भाडा नलिने तथा ट्राफिक नियमको पालना गर्न समेत जिल्लाबासीलाई अनुरोध गरेको हो ।
मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ ।

सेयर गर्नुहोस्