उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ :अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।
उनले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए ।विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसंग आग्रह समेत उनको छ ।
यस्तै अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यक्ता भएको बताए ।

अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पूँजी समेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।
सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण लगायतका विषय गरेका निर्णयहरु सराहनीय रहेपनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिए।

सेयर गर्नुहोस्