असार २०, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अरुको दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दे ओलीले भने,‘संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए माधव नेपाल पक्षका नेताहरू एमाले हुन सक्दैनन् ।’
प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नै पार्टीको प्रधानमन्त्री हुँदा हुँदै अरु दलका नेतालाई समर्थन गर्ने भनेको पार्टी पद्धति बिपरित भएको बताए । सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरू पार्टीका नेता हुन नसक्ने जिकिर गरे । उनले भने, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउन ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टीका कार्यकर्ता हैनन् । त्यसले नै कित्ताकाट गरिसक्यो नि । भ्रम पाल्न आवश्यक छैन ।’
अध्यक्ष ओलीले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको र एकताका लागि आह्वान गरिरहेको समेत बताए । उनले भने, ‘हामी अहिले पनि एकताको पक्षमा छौँ । एकताका लागि आह्वान गरिरहेका छौँ । कुरा गरिरहेका छौँ ।’
अध्यक्ष ओलीले पार्टीको पक्षमा बोलिरहेका व्यक्ति मात्रै पार्टीको नेता हुने समेत बताए । उनले पार्टीको विरोधमा काम गर्नेहरू एमालेका नेता तथा कार्यकर्ता हुन नसक्ने बताए । एमालेमा एकता चाहनेहरु एमालेको नेतृत्व स्वीकार गर्नुपर्ने धारणा उनले राखे । बैठकमा माधब नेपाल पक्षका नेताहरु सहभागी थिएनन् ।

