प्रतिनिधीसभा विघटन बिरुद्धका ३० वटा रिटमा बहस आजदेखि सकिंदै

असार २१, काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका बारेमा परेका ३० वटा रिटमाथिको बहस आज सोमबार सकिँदैछ ।

आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ ।

यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ ।

उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ । बहस सकिँदै गर्दा अधिकांशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित भएको छ । फैसला कहिले दिने भन्ने अदालतले आजै जानकारी दिन सक्नेछ ।

गत असार ९ गते प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको थियो ।

ती रिट निवेदनमध्ये ४ वटामा ओलीलाई नै प्रधानमन्त्री कायम गरिनुपर्ने माग छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ । संभवत यो साता भित्र अदालतले फैसला सुनाउनेछ ।

 

 

सेयर गर्नुहोस्