अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ । काठमाण्डौ महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाउने भनिएको थियो । तर निर्णय भएको ५ दिन वितिसक्दा पनि सबै स्थानमा महानगरले तरकारी बिक्रीको प्रबन्ध मिलाउन सकेको छैन । हाल तरकारी बिक्री भईरहेका कलंकी र स्वयम्भुको तरकारी बजार पनि व्यवस्थित छैन । कालीमाटी तरकारी बजारमा हुने भीडभाड नियन्त्रणका लागि महानगरले लिएरको निर्णय राम्रो भएपनि तोकिएका अस्थायी बजार व्यवस्थापन फितलो देखिएपछि कोरोना संक्रमणको जोखिम बढेको हो ।
तरकारी व्यापारीले महानगरले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्रि गरिरहेका थिए । कालिमाटी तरकारी बजार बाट कलंकी जाने रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका थिए । आईतबार बिहान कंलकी तरकारी बजार पुग्दा झुण्ड झुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । सामाजिक दुरी कायम गर्ने विषयलाई पुरै नजरअन्दाज गरिएको थियो । बिक्रेताले धमाधम तरकारी बेचिरहेका थिए भने उपभोक्ताले पनि भीडभाडमा नै बसेर तरकारी किनिरहेका थिए । तरकारी बजार भरी न त साबुन पानी कतै राखिएको थियो न त स्यानिटाईजर । केहीले मास्क लगाएका थिए । स्वयम्भु स्थित अर्को अस्थायी तरकारी बजारको अवस्था पनि उस्तै थियो । न त सामाजिक दुरी कायम गर्ने विषयलाई पालना गराईएको थियो नत अन्य सर्तकताका विषय नै सचेत गराईएको थियो । फोहोर थुपार्ने गरेको स्थान नजिकै तरकारी विक्रि वितरण भईरहेको थियो । जोखिम बढाएको काटीमाटी तरकारी बजार प्रवेशद्वारमा नै साबुन पानी र स्यानिटाईजर राख्ने गरिन्थ्यो । तर कालीमाटीमा जोखिम बढ्यो भनेर महानगरले अन्यन्त्र सारेर सुरक्षित बनाएको भनिएको तरकारी बजारको अवस्था झनै नाजुक देखियो ।

सेयर गर्नुहोस्