पशुपतिनाथमा चढाइएको जलहरीमा दश केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दावी

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु भएको हो । उहाँले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनु भयो । आफूले पटक-पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु झार्नु भयो । आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गर्नु भयो । सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनु भयो । उहाँले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नु भयो ।
सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनु भयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उहाँको दावी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

सेयर गर्नुहोस्