पर्यटन मन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

काठमाडौ ।कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।
मन्त्रीपाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअटहाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावनाबारे छलफल भएको हो ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ। नेपाल र कम्बोडिया बीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुबै पक्ष सहमत भएका छन् । यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारी स्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।
कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ । अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ । यस भेटघाटले दुवै राष्ट्रका बीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्