काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्व विद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्राप्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको जनाएको छ ।
वीरगन्जकी साहको बिहीबार केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । नेपालस्थित भरतीय दूतावासले सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको पनि विज्ञप्तिमा भनिएको छ ।
केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यस अघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्।

