ट्रेड टावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

