काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका हुन्
आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ।
जेनजीका अगुवा सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ। केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो । अन्य नाममा विवाद नगरेका उनीहरुले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन् ।

