सामाजिक सुरक्षा भत्ता लिन सडकसम्म लाम, सेवाग्राही निराश

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बितरण गर्न थालेपछि लाभग्राही मर्कामा परेका छन् ।
चन्द्रपुर नगरपालिकाले वर्डा नम्बर १ को सेन्टर फाइनान्स लिमिटेड, वार्ड नम्बर २ ले ज्योति बिकास बैंक, वार्ड नम्बर ३ को कृषि बिकास बैंक, वार्ड नम्बर ३ को नेपाल एसबिआइ बैंक, वर्डा ५ को कुमारी बैंक ६ को लुम्बिनी बिकास बैंक ७ को प्रभु बैंक, ८ को महालक्ष्मी बिकास बैंक ९ को एभरेष्ट बैंक र १० को सेन्टर फाइनान्स लिमिटेडबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ ।
तर वृद्धभत्ता लिन खर्च गरेर बैंकसम्म पुग्नुपर्ने र सहज तरिकाले नपाउने गरेको गुनासो सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको छ । पछिल्लो समयमा भत्ता लिन स्वयं भत्तावाल नै उपस्थित हुनुपर्ने नियमले गर्दा उनीहरू समस्यामा परेका हुन् ।
कतिपयका छोराछोरी वा नाति नातिनी साथमा लिएर आएपनि भत्ता लिन सहज नभएको चन्द्र्पुरका स्थानीय चिरञ्जीवी गौतमले बताए । यहाँका बैंकसम्म भत्ता लिन आएका आमाबुवालाई बस्ने सुबिधा नहुँदा सडकसम्म लाम लागेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।
सेन्टर फाइनान्स लिमिटेडमा बिहान १० बजे भन्दा अगाडि नै भत्ता लिन बैंक आइपुगेका वृद्ध वृद्धाहरुको लाम देखेर निराश भएको उनले बताए । उनका अनुसार वृद्धवृद्धाहरुलाई आरामले बस्ने र छिटोछिटो दिने व्यवस्था गर्नुपर्ने उनले माग गरे ।
कतिपय वृद्धवृद्धा शारीरिक रुपमा कमजोर भएकाले लामो समयसम्म उभिन वा सडकमा बस्न कठिनाइ भएको बताइन्छ । स्थानीय नागरिक र सामाजिक कार्यकर्ताहरूले वृद्धभत्ता वितरण कार्य मानवीय दृष्टिले सहज र सम्मानजनक बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले बैंकभित्र बस्ने र छिटोछिटो दिने व्यवस्था गर्न आफूले बैंकसँग समन्वय गरिरहेको बताए ।
आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन आवश्यक पूर्वतयारी र व्यवस्थापन गरिने उनको भनाइ छ । पालिकाले आवश्यक कागजका आधारमा वडा स्तरबाट नै भत्ता वितरणको कार्य गरे सजिलो हुने देखिन्छ ।

सेयर गर्नुहोस्