शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

साँखु(काठमाडौं) । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ । एक महिनाभर स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ ।

एक महिनासम्म धार्मिक विधि अनुसार व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाउने व्रत विधि छ ।

सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

एक महिनासम्म काठमाडौंको साँखुमा शालीनदी मेलाको तयारी भइरहेको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा श्री माधव नारायण स्वस्तानी व्रत तथा शालीनदी सुधार समितिको महासचिव एलपी श्रेष्ठले आफ्नो मनोकामना पूरा गर्नको लागि नेपालका विभिन्न ठाउँबाट व्रतालुहरू एक महिना कठोर व्रत बस्नका निमित्त आउने गरेको बताए ।

यस्तै, उनले यसपाली महिला र पुरुष र सामागनहरू प्रत्येक वर्ष हुने सात जना गरेर लगभग १८० जनाको सहभागिता हुने पनि जानकारी दिएका छन् । उनले शालीनदी मेलालाई लक्षित गर्दै व्यवस्थापन समितिले ब्रतालु, दर्शनार्थी तथा धार्मिक पर्यटकहरूको सुविधाका लागि व्यापक तयारी पूरा गरेको जनाएको छ । उनका अनुसार महिला ब्रतालुहरू मन्दिर परिसर बाहिर शंखरापुर–साँखु क्षेत्रमा कोठा भाडामा लिएर एक महिना बस्ने व्यवस्था गरिएको छ भने धार्मिक रूपमा गर्नुपर्ने सम्पूर्ण क्रियाकलाप समितिले नै व्यवस्थापन गर्नेछ ।

प्रदेश यात्राका क्रममा बज्रयोगिनी, पशुपतिनाथ, फर्पिङ र पनौतीसम्मको सम्पूर्ण यात्रा, बसोबास र व्यवस्थापन समितिकै तर्फबाट गरिने जानकारी दिइएको छ । यसका लागि ब्रतालुहरूबाट कुनै शुल्क नलिइएको पनि उनको भनाइ छ ।

पुरुष ब्रतालुहरू भने शालीनदी मन्दिर परिसरमै बस्नुपर्ने व्यवस्था गरिएको छ । श्री माधव नारायण विराजमान हुने भएकाले सामग्रीसहित यहीं सुत्नुपर्ने व्यवस्था गरिएको हो । भोजनको व्यवस्थापन भने स्वयं ब्रतालुहरूले नै गर्नेछन् । उनले यस वर्ष एक महिनाभर करिब २५–३० लाख भक्तजन शालीनदी आउने अनुमान गरिएको भन्दै भक्तजनहरूको आवागमन सहज बनाउन यातायात व्यवसायी र नगरपालिकासँग समन्वय गरिएको बताए ।

लाइन व्यवस्थापनदेखि सुरक्षासम्म स्काउट, महिला स्वयंसेविका र विभिन्न महिला समूहहरू परिचालन गरिएको छ । साथै घाट व्यवस्थापन, नदी सरसफाइ, फोहोरमैला व्यवस्थापन, बजार व्यवस्थापन तथा रंगरोगनका कामहरू सम्पन्न भइसकेका छन् ।

मन्दिर परिसरभित्रका स्टलहरूको व्यवस्थापन समितिले गर्नेछ भने बाहिरी क्षेत्रमा नगरपालिकाले शुल्क उठाउनेछ । परिसरभित्र एक हातको २५०० रुपैयाँ शुल्क लिइने र सोही आम्दानीबाट मेला व्यवस्थापन गरिनेछ । यस वर्ष मेलामा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ भने स्टलबाट करिब ३०–३५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।

४०–५० किलोमिटर खाली खुट्टा हिँड्नुपर्ने कठिन व्रत भएकाले ५०–५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई स्वास्थ्य अवस्था हेरेर मात्र व्रतमा समावेश गराउने नीति अपनाइएको उनले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्