काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिएको छ।
राष्ट्रिय सभा अन्तर्गतको समितिको मंगलबार बसेको बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणको अवस्थाबारे जानकारी लिइएको हो।
बैठकमा निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवन कुन चरणमा पुगेको छ, समयसीमा, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका चुनौतीबारे विस्तृत छलफल भएको बताइएको छ। समितिका सदस्यहरूले विभागका अधिकारीहरूसँग प्रगति र समस्या समाधानका उपायबारे जानकारी लिएका छन्।
बैठकमा प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता सन्दीप खनालले पुरातत्व विभागको भूमिका मुख्यतः ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा केन्द्रित रहेको बताए। उनले अहिलेको ग्यालरी हलको रेट्रोफिटिङमा विभागको भूमिका अनुगमनमा मात्र सीमित रहेको उल्लेख गरे ।
उनले भने,‘पुरातत्व विभागले पुरातातित्वक सम्पदाको संरक्षण गर्ने हो । अहिलेको ग्यालरी हलको रेट्रो फिटिङमा विभागको भूमिका भनेको अनुगमनको मात्र छ यो दुःखको साथ भन्नुपर्छ । डोजर लगाएर काम नगर्नु भनेर रिपोर्ट लेख्न बाहेक अरु भूमिका छैन् ।’
