आज राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौं । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ।
नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ।

हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, आतिथ्यता र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परा पनि हो। अधिकांश नेपाली घरमा दिनको सुरुवात चियाबाट हुने गर्दछ भने अतिथि सत्कारको पहिलो माध्यम पनि प्रायः चियानै बन्ने गरेको छ।

इलाम र झापाका हरियाली डाँडाकाँडाबाट सुरु भएको नेपालको चिया यात्राले करिब डेढ शताब्दी पार गरिसकेको छ। आज नेपाली चियाले विश्व बजारमा आफ्नो छुट्टै पहिचान र विशिष्ट स्वाद स्थापित गरिसकेको छ। चियाको प्रत्येक कपमा पूर्वी पहाडको शीतल हावा र मेहनती किसानहरूको पसिनाको सुगन्ध मिसिएको अनुभूति हुने गर्दछ।

नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै पनि बढ्दो आयात, गुणस्तर प्रमाणीकरणका लागि आफ्नै अत्याधुनिक प्रयोगशालाको अभाव तथा बजार व्यवस्थापनमा देखिएका नीतिगत अन्योलले चिया क्षेत्रलाई चुनौतीमा पारेको छ। लाखौँ श्रमिक र किसानहरूको जीविकोपार्जनसँग जोडिएको यस क्षेत्रमा न्यायोचित मूल्य, प्रविधिको पहुँच र दीर्घकालीन नीति अझै अपेक्षाकै विषय बनेको छ।

विशेषज्ञहरूका अनुसार उचित नीति, आधुनिक प्रविधि र गुणस्तरमा दृढता देखाउन सके नेपाली चियाले विश्व अर्थतन्त्रमा अझ बलियो स्थान बनाउन सक्छ। राष्ट्रिय चिया दिवसले आफ्नै मौलिक उत्पादनप्रति गर्व गर्न मात्र होइन, यसको व्यवसायीकरण, संरक्षण र प्रवद्र्धनमा जिम्मेवार बन्न पनि प्रेरित गर्दछ।

सेयर गर्नुहोस्