पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ : ओली

पोखरा। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे ।
आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उहाँले बताए ।
युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।

सेयर गर्नुहोस्