९४६ केजीगाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

विराटनगर । ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजा सहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ ।
पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् ।गत बैशाख १५गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिटमौना बुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो ।
ट्रकमा रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमानदारी र साहस साथ आफ्नो कर्तव्य निर्वाह गरेका छन् ।
यसले प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत बनाएको जनाइएको छ ।प्रहरी संगठनले यस्ता उत्कृष्ट कार्य सम्पादन गर्ने सुरक्षा कर्मीलाई हौसला र प्रेरणा दिनका लागि ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’घोषणा गर्दै आएको छ ।

सेयर गर्नुहोस्