इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्य मन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेश सभामा यी दुई दलका कुल ६४ सांसदहरूको समर्थन रहेको छ।
मकवानपुर निवासी बानियाँ भन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा बागमती प्रदेशको नेतृत्व गरिसकेका छन्।
मुख्यमन्त्री बानियाँले चाँडै नै मन्त्रि परिषद् विस्तार गर्ने तयारी गरेका छन्।

सेयर गर्नुहोस्