काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।
आइतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।
ऊर्जा आयोजनामा साना ठूला लगानीकर्ताहरु गरी करिब ६५ लाख लगानीकर्ता आवद्ध भइसकेकोले ऊर्जा क्षेत्रका कुनै पनि नीति नियमहरु परिवर्तन गर्दा, शेयर बजारका नीति नियमहरु परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता मात्रै नभएर भोटरहरु पनि हुन भन्ने कुरा सबै राजनीतिक दलहरुले बुझ्नुपर्ने बेला आइसकेको पनि डाँगीले बताए ।
नेपाली भएका नाताले हामी सबैको पहिलो उद्धेश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एक अर्कालाई असहयोग गरेर बहादुरी प्रदर्शन गर्न समय खर्च नगरी उक्त समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत उत्पादन बढाउन र निर्यात बढाउनमा खर्च गरी भावी सन्ततीलाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्न लाग्नुपर्ने बताए ।
गत आर्थिक वर्षबाट नेपाल खुद विद्युत निर्यात कर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात ९७.५ प्रतिशत पालिकाका विद्युतको पहुँच पु¥याउनमा प्राधिकरणको जति योगदान छ त्यसमा निजी क्षेत्रले उत्पादनमा पु¥याएको योगदान पनि कुनै पनि कोणबाट त्योभन्दा कम नभएको समेत डाँगीले बताए ।
