काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ।
वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर क्षति पुगेको जानकारी दिएको छ।
हाल सो क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा नयाँ उपकरण जडानको कार्य तदारुकताका साथ भइरहेको जनाइएको छ।
वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवा ग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ।
वडाले सेवा पुनः सञ्चालन सम्बन्धी सूचना समयमै सार्वजनिक गरिने पनि जनाएको छ।
