रेमिटेन्सको रफ्तार बढ्दै, विदेशी विनिमय सञ्चिति ऐतिहासिक उचाइमा, अर्थतन्त्रमा राहतको संकेत

काठमाडौं । वैदेशिक रोजगारबाट हुने आम्दानी निरन्तर बढ्दै जाँदा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेकोे छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यसमध्ये असोज महिनामा मात्र २ खर्ब २ अर्ब रुपैयाँ देशमा भित्रिएको अथर्अ मन्त्रालयले जनाएको छ । यस अवधिमा १ लाख २४ हजार नयाँ कामदारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीतर्फ अघि बढेका छन् भने ७७ हजार जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
रेमिटेन्स प्रवाहको मजबूत प्रभाव विदेशी विनिमय सञ्चितिमा प्रस्ट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र विदेशी विनिमय सञ्चिति १ खर्ब ७१ अर्ब डलर (झण्डै ३ खर्ब २ अर्ब रुपैयाँ) ले बढेको छ, जुन पछिल्ला वर्षहरूमा अभूतपूर्व वृद्धि मानिन्छ ।
असोज मसान्तसम्म आइपुग्दा नेपालको कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ (करिब १९ अर्ब ५० करोड डलर) पुगेको राष्ट्र बैंकले जनाएको छ । यो आर्थिक सूचकले नेपाल आयात धान्ने क्षमतामा बलियो बनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमा २४ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ । रेमिटेन्स प्रवाहमा देखिएको निरन्तर वृद्धि र त्यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चिति वृद्धि दुवैले नेपालको आर्थिक स्थिरता मजबुत बनाएको विश्लेषकहरूको भनाइ छ । हालको रेमिटेन्स र विदेशी मुद्रा भण्डारको अवस्था नेपालका लागि राहतको संकेतको रूपमा हेरिएको भए पनि अर्थतन्त्र अझै दिगो रुपले सुदृढ बनाउन उत्पादन मूलक क्षेत्र र रोजगारी सृजनामा ध्यान दिनुपर्ने आवश्यकता अर्थशास्त्रीहरुले बताएका छन् ।

सेयर गर्नुहोस्