असार २२, काठमाडौं । तोकेको समयमा मल खरिद गरेर ल्याउन नसकेपछि शैलुङ इन्टरप्राइजेज कालोसुचीमा परेको छ । यो इन्टरप्राइजेज शारदा प्रसाद अधिकारीको हो ।
अधिकारी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् । यिनै अधिकारीका घरमा प्रचण्ड बस्दै आएका छन् । राजनीति पहुँचकै आधारमा अधिकारीले बंगालादेशबाट मल ल्याउने टेण्डर पार्न सफल भएका थिए । तर, उनले मल ल्याउन सकेनन् । त्यसपछि कृषि सामग्री संस्थानले उनको संस्थालाई कालोसुचीमा पारेको हो ।
शारदा प्रसादका जस्तै अन्य ठेक्का पाएका कम्पनीहरुले पनि मल ल्याउन नसकेपछि गत बर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिना वाजेदसँग वार्ता गरेर मल ल्याउनु परेको थियो ।
शारदा प्रसाद अधिकारीकै शैलुङ कन्सट्रक्सनले धेरै ठेक्का लिएर अलपत्र पारेर छाड्ने गरेका छन् । कृषि सामग्री संस्थानले शैलुङ बाहेक अरु १४ वटा निर्माण व्यवसायी तथा सप्लायर्सहरुलाई कालोसूचीमा राखेको छ ।
खरिद अनुगमन कार्यालयको बैठकले खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलबार (आज)देखि लागु हुने गरी कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाइँदैन ।
सरकारले तोकेको मितिमा मल ल्याउन नसकेर बदनाम भएका आँफु बसेको घरबेटीको नाम सार्बजनिक भएकोमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

