चिनियाँ राष्ट्रपतिद्धारा विश्वका नेताहरुलाई संबोधन, १६० देश सहभागी

 

असार २३, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्षगांठ मनाएको छ । यो उपलक्ष्यमा विश्वका राजनीतिक पार्टीका नेताहरूसंग मंगलबार एक भब्य कार्यक्रम आयोजना गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले संबोधन गरेका थिए ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा शान्तिपूर्ण विकास नै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थिर लक्ष्य भएको बताएका छन् । सम्बोधनमा सीले विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्‍न र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरेका छन् ।

जनताको हितका लागि राजनैतिक दलहरूको उत्तरदायित्व शीर्षकको सम्मेलनमा राष्ट्रपति सीले सबै देशका मानिसहरूलाई आफ्नै विकास मार्गहरू र संस्थागत मोडेलहरू छनौट गर्ने अधिकार रहेको तथा प्रशस्त तथा विभिन्न कल्याणकारी मार्गहरू भएको पनि बताए । उनले भने, ’प्रजातन्त्र भनेको केही थोरैका लागि विशेष सुविधा होइन, यो सबै व्यक्तिको अधिकार हो ।’

सम्मेलनको उद्देश्य सीपीसी र विश्वभरका राजनैतिक पार्टीहरूबीच शासन अनुभवको आदानप्रदान र पारस्परिक सिकाइलाई सुदृढ बनाउनु पनि हो । साथै सीपीसी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा आयोजना गरिएको सम्मेलन एउटा महत्त्वपूर्ण बहुपक्षीय कूटनीटिक कार्यक्रम पनि हो ।

सम्मेलनमा १६० वटाभन्दा धेरै मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५०० भन्दा बढी नेता तथा दश हजारभन्दा बढी राजनीतिज्ञहरू सहभागी भएका थिए । सीले सम्बोधनको क्रममा सबै देश तथा राष्ट्रहरू समान रूपमा विकासको अवसर र अधिकारको हकदार भएको बताए । अन्तर्राष्ट्रिय समुदायले कोभिड–१९ लाई रोक्न तथा अर्थव्यवस्थालाई पुनर्जीवित गर्न ठूलो प्रयास गरेको पनि औँल्याए ।

वैश्विक समुदायको साझा भविष्यको परिप्रेक्ष्यबाट सहकार्य र अवसरका लागि विश्‍व एक विशाल र व्यापक स्थल भएको पनि बताए । उनले भने, हामीले मानवताको साझा मूल्यलाई जित्न आवश्यक छ, विभिन्न सभ्यताहरूद्वारा मूल्यहरूलाई बुझ्‍ने दिशामा व्यापक सहिष्णुताको सोचको विकास गर्नुपर्छ, मूल्य मान्यतालाई वास्तविकतामा परिणत गर्ने विभिन्न मानिसहरूको अन्वेषणलाई सम्मान गर्नुपर्छ । साझा जीत, विन विन सहयोग र सहअस्तित्व मात्र समाधान भएको पनि औँल्याए ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा सीपीसीको शतवार्षिकीको अवसरमा १७० देशका ६२४ राजनैतिक पार्टी तथा संगठनबाट १०५० वटा शुभकामना तथा बधाई सन्देश प्राप्त भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद पनि ज्ञापन गरे । साथै चिनियाँ जनताको भविष्यसँगै विश्वका सबै जनताको उज्ज्वल भविष्यका लागि सदा लागि रहने पनि उनले बताए । उनले चिनियाँ जनताका साथै विश्व जनताका साथमा सीपीसीले शतवार्षिकी मनाउन सफल भएको पनि बताए ।

उनले सम्बोधनको क्रममा बहुपक्षीय भेषमा गरिएको एकपक्षीयवाद तथा सत्ता राजनीति र प्रभुत्ववादको विरूद्धमा खडा रहनुपर्छ भन्दै चीन जहिले पनि विकासोन्मुख देशको सदस्य रहने र चीनले कहिले पनि प्रभुत्ववाद, विस्तारवाद तथा प्रभावको फाइदा नखोज्‍ने पनि स्पष्ट पारे ।

साझा जीत र विकासको अवधारणामा बेल्ट एण्ड रोडको निर्माणमा उच्च गुणस्तरीय सहकार्यलाई बढाउँदै वैश्विक सम्पर्कको विस्तार गर्दै धेरैभन्दा धेरै देशहरूसँग विकासको फल बाँडन तयार रहेको पनि राष्ट्रपति सीले बताए ।

गरिबीको न्युनिकरण नै विभिन्न मुलुकका जनताका साझा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको गरिबी न्युनिकरणको क्रममा अझ बढी चिनियाँ उपाय तथा शक्ति सिर्जना गर्दै जाने पनि बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन यता चीनले वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ । दिगो विकासका लागि संयुक्त राष्ट्र संघको सन् २०३० एजेण्डालाई चीनले दश वर्षअघि पूरा गरेको छ ।

राष्ट्रपति सीले मानवता एउटा र पृथ्वी घर भएको भन्दै बुँदागत रूपमा यसो भने । सर्वप्रथम, हामीले नेतृत्वको जिम्मेवारी वहन गर्नुपर्दछ र मानव जातिको साझा भविष्यलाई बुझ्नुपर्दछ र आकार दिनुपर्दछ । दोस्रो, हामीले आम सहमति निर्माण गर्ने जिम्मेवारी वहन गर्नुपर्दछ र सबै मानवजातिको साझा मूल्य मान्यताहरुलाई बढाउनुपर्दछ ।

तेस्रो, हामीले विकासको प्रवर्धन गर्नका लागि जिम्मेवारी वहन गर्नुपर्दछ जसबाट सबै मानिसले समान रूपमा विकासको फल प्राप्त गरी अझ बढी लाभान्वित हुनसकोस् । चौथो, हामीले सहयोगलाई सुदृढ पार्ने जिम्मेवारी वहन गर्नुपर्दछ र विश्वव्यापी जोखिम र चुनौतीहरूलाई सम्बोधन गर्न सँगै काम गर्नुपर्दछ । पाँचौं, हामीले सुशासन सुधारको जिम्मेवारी वहन गर्नुपर्दछ र जनतालाई खुसी बनाउने हाम्रो क्षमतालाई निरन्तरता दिइनु पर्छ ।
सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताए ।
विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उनले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने उनले बताए । हरियो विकासमा समेत डटेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

मानवीय मूल्यमा सहमति प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ’ उनले भने, ‘शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्छ ।’ चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको समेत उनले बताए ।

चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गरे ।

भर्चुअल बैठकमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए ।

 

 

 

सेयर गर्नुहोस्