जापानमा ‘एसएसडब्लु’ अन्तर्गत माग प्रमाणीकरण सुरु : वैदेशिक रोजगारीमा नयाँ उत्साह !

 

काठमाडौं । नेपालका लागि जापानस्थित नेपाली राजदूतावासले निश्चित सीपयुक्त श्रमिक ( SSW – Specified Skilled Worker) कार्यक्रमअन्तर्गतको मागपत्र प्रमाणीकरण प्रक्रिया सुरु गरेको छ । गत अक्टोबर १४ बाट सुरु गरिएको यो कार्यले वैदेशिक रोजगारी क्षेत्रमा नयाँ आशा ल्याएको छ । हाल युएईलगायत केही मुलुकहरूले नेपाली कामदारको भिसा रोकेका बेला जापानतर्फ रोजगारीका ढोका खुल्नुले नेपाली रोजगार बजारमा नयाँ उत्साह थपिएको छ । जापानले वार्षिक २० हजारभन्दा बढी नेपाली सीपयुक्त कामदार लैजाने अनुमान गरिएको छ । ‘एसएसडब्लु’ कार्यक्रम अन्तर्गतका वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारको मासिक तलब करिब २ लाख रुपैयाँ सम्म हुने अपेक्षा गरिएको छ । एसएसडब्लु अन्तर्गत नर्सिङ, स्याहार–सुसार, निर्माण, भवन सरसफाइ, पानी जहाज निर्माण, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होटल, खानपान उद्योग, कृषि, मत्स्यपालन र अक्वाकल्चर लगायत १४ क्षेत्रमा सीपयुक्त रोजगारी अवसर खुला गरिएको छ ।
राजदूतावासका अनुसार प्रमाणीकरण प्रक्रिया जापानका कानुन, नियमावली, निर्देशिका र सम्बन्धित कानुनी प्रावधानअनुसार गरिएको हो । आवश्यक कागजात र प्रक्रियाबारे जानकारी राजदूतावासको वेबसाइटमार्फत सहज र पारदर्शी प्रणालीमा उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले हालै जापान भ्रमणका क्रममा जापान स्थित राजदूत दुर्गाबहादुर सुवेदी समक्ष भेट गरी एसएसडब्लु अन्तर्गतका रोजगारीमा संस्थागत रूपमा कामदार पठाउन पठाउने कार्यविधिको अनुसार मागपत्र प्रमाणीकरण गर्न माग गर्दै ज्ञापनपत्र प्रस्तुतगरेको थियो । व्यक्तिगत श्रम स्वीकृतिमा जाने कामदार ठगीमा परेको तथा कम सेवा सुविधामा काम गर्नुपरेको लगायतका समस्या राजदूत दुर्गाबहादुर सुवेदी समक्ष राखेका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले भने, “राजदूतावासले मागपत्र प्रमाणीकरणको सुरुवात गरेर राम्रो पहल गरेको छ । अब व्यवसायीहरूले पनि सोहीअनुसार सक्रियता देखाउन जरुरी छ ।”उनीका अनुसार, दसैं बिदामा जापान पुगेका केही कामदार व्यक्तिगत स्वीकृतिमा गएर ठगीमा परेपछि संस्थागत रूपमा एसएसडब्लु रोजगारी पठाउने माग गरिएको हो।
हालै दक्षिण कोरियाको ई–७ भिसा प्रक्रिया स्थगित भएपछि संघका अध्यक्ष गुरुङले सो निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । उनले खाडी क्षेत्रमा देखिएको समाधानका साथै जापान, युरोप र अन्य मुलुकहरूमा नयाँ रोजगारी अवसरको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । उनले थपे,“हामीले युरोपेली मुलुकहरूसँग सहकार्यमा रोजगार मेला आयोजना गर्ने योजना बनाइरहेका छौं, जसले नेपाली कामदारका लागि नयाँ ढोका खोल्नेछ।”
नेपाल र जापानबीच सन् २०१९ मा श्रम सम्झौता भए पनि कार्यविधि नबनेका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत माघ महिनामा कार्यविधि स्वीकृत गरेपनि ‘एसएसडब्लु’ कार्यक्रमअन्तर्गतको मागपत्र प्रमाणीकरण प्रक्रिया सुरु गरेको थिएन । ‘एसएसडब्लु’ कार्यक्रम अन्तर्गत कामदारको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ । तर, रोजगारदाता र म्यानपावरबीच छुट्टै सम्झौता भएको अवस्थामा सोही अनुसार खर्च कामदारले व्यहोर्नुपर्ने छ ।
जापानमा एसएसडब्लु माग प्रमाणीकरण सुरु भएसँगै नेपाली सीपयुक्त कामदारका लागि वैदेशिक रोजगारीमा नयाँ गन्तव्य खुलेको छ । सरकार, म्यानपावर व्यवसायी र कामदारबीच सहकार्य भएमा जापान अब खाडी मुलुकहरूको उत्कृष्ट विकल्प बन्न सक्ने संकेत देखिएको छ।

सेयर गर्नुहोस्