सोल्टी होटलले लाभांश घटायो, विस्तार योजनामा ध्यान केन्द्रित

काठमाडौं । सोल्टी होटल लिमिटेडले यस वर्षका लागि गत वर्षभन्दा कम लाभांश प्रस्ताव गर्दै आगामी विस्तार र सेवा सुधार योजनामा लगानी बढाउने संकेत दिएको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१÷८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको छ ।
गत वर्ष भने कम्पनीले ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष लाभांश घटाउनुको कारण कम्पनीको आगामी दीर्घकालीन व्यवसायिक योजना तथा पूँजीगत खर्च वृद्धि रहेको बताइएको छ ।
कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेलमा ५१औं वार्षिक साधारण सभा बोलाउँदै छ । सभाको समय विहान १० बजे निर्धारण गरिएको छ ।
हाल सोल्टी होटलको चुक्तापूँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ र सोही आधारमा लाभांश वितरण गरिनेछ । यसैगरी साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ५ देखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोज प्रणालीअनुसार मंसिर ४ गतेसम्म कायम शेयरधनीलाई मात्र सभामा सहभागिता र लाभांश प्राप्तिको अधिकार हुनेछ ।
नेपालको अग्रणी फाइभ–स्टार होटलमध्ये एक सोल्टी होटलले पछिल्लो समय नयाँ बजार विस्तार र सेवा आधुनिकीकरणमा केन्द्रित हुँदै आएको छ । लाभांश घट्नु पनि भविष्यका दीर्घकालीन योजनालाई प्राथमिकता दिएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।

सेयर गर्नुहोस्