सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ, राम्रो नतिजा ल्याउने विश्वास

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छन् ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा मलेसिया र चीनसँग रहेको छ भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् । यसअघि समूह ‘ए’ मा रहेको कतारले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ ।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो रहेको र सिंगापुरमा सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले छोटो तयारी समयमा पनि टोलीले राम्रो लय देखाएको उल्लेख गर्दै प्रतियोगिता एसियन गेम्सको छनोट भएकाले अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले एसियन गेम्समा पुग्ने लक्ष्यसहित टोलीले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनका अनुसार नेपालले पछिल्लो एसियन गेम्समा पदक नजिक पुगेर पनि अवसर गुमाएको थियो । यसपटकको छनोट प्रतियोगिता त्यही लक्ष्य पूरा गर्ने पहिलो चरण भएको उनले बताए । उनले टी–२० ढाँचामा हुने प्रतियोगितामा जुनसुकै नतिजा सम्भव हुने भएकाले पूर्ण तयारीका साथ मैदानमा उत्रिनुपर्ने बताए ।

नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा टोलीको तयारी पूरा भएको र खेलाडीहरू उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ।

मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि टोली उत्साहित रहेको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगिताको सेमिफाइनल पुग्ने टोली एसियन गेम्स पुरुष क्रिकेटका लागि छनोट हुनेछन्। एसियन गेम्स क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ ।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन्।

सेयर गर्नुहोस्