काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त दरबन्दी मन्त्रालयमा प्राप्त भएको हो ।
स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ ।
विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ । साथै यो सूची संघीय पुल दरबन्दी संरचनाअन्तर्गत मात्र भएको स्पष्ट पारिएको छ ।
सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमा थप ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जानकारी दिएको छ ।
